- Emailinfo.soe@mtu.edu.np
- Contact+977 021-590694
विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका प्रशासन प्रमुख महेश राईका अनुसार विश्वविद्यालयमा चारवर्षे स्नातक इन्जिनियरिङ अध्ययन गरेका पहिलो समूहबाट इन्जिनियरको लाइसेन्सका लागि परीक्षा दिने कुल १७ जना विद्यार्थीहरूमध्ये ८२ दशमलव ३५ प्रतिशत अर्थात् १४ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् । विश्वविद्यालयबाट चारवर्षे स्नातक इन्जिनियरिङको परीक्षा उत्तीर्ण गरी परिषद्बाट लाइसेन्स प्राप्त गर्न सफल विद्यार्थीहरूले अब व्यावसायिक रूपमा पनि इन्जिनियरिङ सेवा गर्न पाउनेछन्।
परीक्षाविज्ञ इन्जिनियर युवराज चौधरीकाे अनुसार मनमोहन विश्वविद्यालबाट पहिलोपटक इन्जिनियरिङ परिषद्को परीक्षा दिनेहरूमा सिभिलतर्फ १३ जनामा ११ जनाले र इलेक्ट्रिक एन्ड इलेक्ट्राेनिक्सतर्फ चारजनामा तीनजना पहिलो पटकमै उत्तीर्ण भएर इन्जिनियरको लाइसेन्स प्राप्त गर्न सफल भएका छन्। परिषद्को परीक्षा उत्तीर्ण गरेर इन्जिनियरको लाइसेन्स पाउने विद्यार्थीहरुमा सिभिलतर्फ अविनाश कुमार साह, अमितकुमार यादव, अनिशा रुचाल, अंशु रौनियार, फनिस कटुवाल,हरि पौडेल, एमडी अबु मिया सुफियान, निर्मला दाहाल, सुदर्शन गिरी, शुभुप्रभात काफ्ले र उमेश यादव छन्। यसैगरी, इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्सतर्फ रोशनकुमार मेहथा, विश्वप्रसाद साह र लवनारायण राजवंशी छन्।
कोशी प्रदेश सकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले २०७८ देखि स्कुल अफ इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रिक एन्ड इलेक्ट्रिोनिक्समा चारवर्षे स्नातक अध्यापन गराउन थालेको थियो। मोरङको बुढीगंगा गाउँपालिका-४, हात्तीमुढामा केन्द्रीय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले हाल इन्जिनियरिङ र फार्मेसीतर्फ स्नातक, कानुनमा पाँचवर्षे स्नातक र दुई स्नातोकोत्तर अनि हस्पिटल व्यवस्थापनमा स्नातकोत्तर विषय पठनपाठन गराइरहेकोे छ। साथै, विभिन्न आठवटा विषयमा तीनवर्षे डिप्लोमा पनि सञ्चालन गरिरहेको छ।